पोखरा । भारतीय अतिक्रमणमा परेका नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव दुई तिहाईभन्दा बढी मतले पारित भएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा दफावार छलफल सकिएपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि भएको मतदानमा २५८ मत परेको हो । यसको विपक्षमा शुन्य मत रहेको छ ।
प्रतिनिधिसभाको कुल मत संख्या २ सय ७५ रहेकोमा सहभागी २ सय ५८ ले हुन्छ भनी पक्षमा मतदान गरी दुईतिहाई भन्दा बढी मतले पारित गरेहो हो ।
उक्त विधेयकमाथिको दफावार छलफलका क्रममा सबै राजनीतिक दलले समर्थन जनाएका थिए । विधेयकमाथि मतविभाजनको प्रक्रिया अगाडि बढेकोमा यसको विपक्षमा शुन्य मत झरेको हो ।
यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।