संविधान संशोधन विधेयकमाथि सांसद गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


काठमाडौँ । संविधान संशोधन विधेयकमाथि समाजवादीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरिदिएका छन् ।

संसदको शनिवारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख अग्नि प्रसाद सापकोटाले उनको संशोधनलाई आफूले अस्वीकृत गरेको जानकारी दिए ।


प्रतिनिधिसभा नियमावलीको नियम ११२ अनुसार नभएकाले आफूले संशोधन अस्वीकृत गरेको उनले बताए । नियम ११२ मा कुनै पनि विधेयकमा संशोधन दर्ता गराउन ‘विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने र अस्पष्ट वा निरर्थक हुन नहुने’ उल्लेख छ ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता लिन निर्देशन दिएको थियो भने नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन पार्टीका सांसदहरूलाई हृविप समेत जारी गरेको छ ।