पोखरा, ३१ जेठ । शुनिवार थप २ सय ७३ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
संक्रमण देखिनेमा २४७ पुरुष र २६ जना महिला छन् । योसँगै संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
मन्त्रालयका अनुसार शनिवारसम्म पीसीआर विधिबाट एक लाख २७ हजार २ सय ८८ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट एक लाख ९० हजार ५ सय ८२ को नमुना परीक्षण गरिएको छ ।
हालसम्म ९ सय १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन् । शनिवारसम्म क्वारेन्टाइनमा १ लाख ५० हजार ५ सय ४९ रहेका छन् भने आइसोलेसनमा ४ हजार ४ सय ४ जना रहेका छन् ।