पत्रकार महासंघ कास्कीमा आबद्ध सबै पत्रकारको कोरोना बिमा

-


     मर्दी न्युज    
     ३१ जेष्ठ २०७७ मा प्रकाशित


पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखामा आबद्द सबै (३०२) जना सदस्य पत्रकारको कोरोना बिमा गरिएको छ । तमु धिं यूकेको आर्थिक सहयोगमा २६१ जना पत्रकारको नेपाल पत्रकार महासंघले बिमा गरेको छ भने बाँकी ४१ जना पत्रकारले आ—आफ्ना मिडिया हाउस र सम्बद्द अन्य संघसंस्था र व्यक्तिगत ढंगले पहिले नै कोरोना बिमा गरेका हुन् ।

एक लाखको बिमा शुल्क ६०० रुपैया रहेको उक्त कोरोना बिमा बिमित पत्रकारलाई पि.सि.आर. टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएमा एकमुष्ठ एक लाख प्रदान गरिने बिमा कम्पनिले जनाएको छ ।

पोखरामा पनि कोरोना संक्रमण देखिएसँगै नेपाल पत्रकार महासंघ कास्कीको गत सोमबार बसेको अनलाइन मिटिङले पेशागत जिम्मेवारीका कारण कोरोना बिरुद्धको लडाईंमा अग्रपंक्तिमा रहेका कास्कीका सबै पत्रकारहरुको कोरोना बिमा गर्ने निर्णय गरेको थियो । बिमाको लागि तमु धिं यूकेले आर्थिक सहयोग गरेको हो ।

कास्कीका पत्रकारको कोरोना बिमा गर्न गत मंगलवार ने.प.महासंघ कास्की र सिद्धार्थ इन्सुरेन्स कम्पनिबीच ७ बँुदे लिखित सम्झौता भएको थियो ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विज्ञप्ति जारी गर्दै पत्रकारको कोरोना बिमा गर्न आर्थिक सहयोग उपलब्ध गराएवापत तमु धिं यूकेलाई महासंघले आभार व्यक्त गरेको छ ।

‘कास्कीका पत्रकारहरुको बिमाका लागि नेपाल पत्रकार महासंघ कास्की मार्फत तमु धिं यूकेबाट प्राप्त १ लाख ८० हजार मध्ये महासंघका सदस्य पत्रकार (२६१)को बिमा शुल्क रु १ लाख, ५६ हजार ६ सय गरि बाँकि रहेको रु २३ हजार ४०० उहाहरुकै आग्रह अनुसार महासंघका सदस्य नरहेका आदिबासी जनजाती पत्रकारको बिमा गर्नको लागि फोनिज कास्कीलाई हस्तान्तरण गरिएको ब्यहोरा पनि जानकारी गराउदछौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।