पोखरा, १ असार । सोमवार थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५१ जना थप भएसँगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको छ ।
सोमवार ६७ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार संक्रमित हुनेमा मोरङका २२, पर्साका १० जना, रौटहटका १०२, तनहुँका ५, अछामका ३, कैलालीका ३, डोटीका ४, बाँकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका २१ जना छन् ।
यस्तै धनुषाका ४, नुवाकोटका ३, अर्घाखााँचीका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२, सुनसरीका ३, झापाका १, सुर्खेतका १९, रोल्पाका ४, काठमाडौंका ४, दाङका ४३, धादिङका ९, ललितपुरका १, बाराका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिरहाका ४ जना संक्रमित भएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार सोमबारसम्म पीसीआर विधिबाट १ लाख ३८ हजार ६८३ र आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ जनाको नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३०६ र आरडीटी विधिबाट ८ हजार ६१५ जनाको नमुना परीक्षण गरिएको जनाएको छ। त्यस्तै सोमवारसम्म १ लाख ३३ हजार ८२९ जना क्वारेन्टाइनमा छन् भने आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन ।
हालसम्म नेपालमा १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म १ हजार ४१ जना कोरोना निको भई डिस्चार्ज भएका छन् ।