काठमाडौं, २ असार । उत्तरी भारतको लद्दाख जोड्ने गलवान उपत्यकामा भारत र चिनियाँ सेनाबीच झड्प हुँदा एकजना सैन्य अधिकारी र दुईजना सिपाहीको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सेनाका अधिकारी र दुई सिपाही रहेको भारतीय अखबार द् हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
भारतको रक्षा मन्त्रालयले मङ्गलबार एक वक्तब्य जारी गरी सैन्य भिडन्त र मृत्युको पुष्टि गरेको हो । भारत र चीनबीच लद्दाखसँग जोडिएको सीमा क्षेत्रमा पछिल्लो एक महिनादेखिको तनाबले भिडन्तको रुप लिएको हो । उक्त झड्प हुनुअघि भारतीय र चिनियाँ सैन्य अधिकारीहरुबीच सीमा विवादलाई लिएर पन्ध्र दिनभित्र तीन चरणको वार्ता भइसकेको छ । पूर्बी लद्दाख सेक्टरको चारवटा बन्द सैन्य शिविरमध्ये एकको नजिक भिडन्त भएको हो ।
रक्षा मन्त्रालयले जारी गरेको वक्तब्यमा दुबैतर्फका उच्च सैन्य अधिकारीले तनाब कम गर्न बैठकमा बसेको उल्लेख गरेको छ ।
यता चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकले सीमा नाघेर ‘चिनियाँ सैनिकलाई आक्रमण गरेर दुई पक्षका सीमा सुरक्षा बलबीच गम्भीर शारीरिक सङ्घर्ष भएको’ बताएको समाचारमा जनाइएको छ।
बेइजिङले आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन।
तर भारतीय सेनाले चिनियाँ सैनिकहरू पनि पनि हताहत भएको दाबी गरेको छ।
केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ।