अनुप पौडेल, पोखरा
पोखराका ९० वर्षे कोरोना संक्रमित गण्डकी प्रदेशका कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्तिसँगै प्रि आइसोलेसनमा बसेको खुलेको छ । ज्वरो आएपछि २६ जेठमा पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा भर्ना भएका वृद्ध कोरोनाबाट मृत्यु भएकासँगै बसेको खुलेको हो ।
संक्रमित वृद्ध कोरोनाबाट मृत्यु भएका वालिङ–३ का ५८ वर्षे पुरुषसँग ४ दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रिआइसोलेसनमा बसेको थिए ।
‘उहाँको क्षेत्रीय अस्पतालमा मृत्यु भएका संक्रमितसँग सम्बन्ध देखिएको छ । दुवै जना अस्पतालको प्रि–आइसोलेसनमा सँगै बस्नु भएको रहेछ,’ पश्चिमाञ्चल सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर डा। मीलन श्रेष्ठले भने, ‘रिपोर्ट नेगेटिभ आएपछि उहाँ घर फर्किनुभयो । भोलिपल्ट ज्वरो आएपछि सिधै यहाँ आउनुभयो ।’
संक्रमित वृद्ध ज्वरो आएपछि २२ जेठमा क्षेत्रीय अस्पताल भर्ना भएका थिए । सोही दिन वालिङ ३ घर भएका ५८ वर्षे पुरुष पनि उपचारका वालिङबाटै पोखरा आएका थिए । दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रि–आइसोलेसनमा राखेको थियो ।
वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए । तर भोलिपल्ट ज्वरो आएपछि पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए ।
पहिले पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी पाएपछि ती वृद्धलाई भर्ना लिएको र फेरि स्वाब संकलन गरेर पठाउँदा पोजेटिभ आएको सामुदायिक अस्पतालका एमडी श्रेष्ठले बताए । वृद्धमा उच्च रक्तचापसँगै युटिआई ९पिसाबमा हुने संक्रमण ० को समस्या समेत छ । पोखरा–१४ भेडिफारम बस्दै आएका वृद्धको स्थायी घर स्याङ्जाको वालिङ हो ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले समेत वृद्ध प्रदेशका पहिलो मृतकसँगै प्रि–आइसोलेसनमा बसेको पुष्टि गरेको छ । ‘९० वर्षे वृद्धमा कोरोना देखियो भन्ने आएको छ । उहाँ ज्वरो आएपछि प्रि–आइसोलेसनमा बस्नुभएको थियो । २५ गते रिपोर्ट नेगेटिभ आएपछि घर पठाएका थियौं,’ क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले भने ।
मंगलबार बिहान मात्र पोखराका २१ वर्षे पुरुषमा संक्रमण पुष्टि भएको थियो । पोखरा–३० घर भएका ती संक्रमित भारतबाट आएर महानगरको क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेशमा अहिलेसम्म २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २२ जना निको भएर घर फर्किएका छन् भने १ को मृत्यु भएको छ । – समाधान