चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिए

-


     मर्दी न्युज    
     ३ असार २०७७ मा प्रकाशित


एजेन्सी । लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको बीबीसीले जनाएको छ ।

भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ।

वक्तव्यमा भनिएको छ, ‘भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५÷१६ जुनको रातमा भिडन्त भएको थियो। भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ।’

मङ्गलवार केही अघि भारतले गलवान क्षेत्रमा भएको भिडन्तमा सेनाका एक वरिष्ठ अधिकारीसहित तीन भारतीय सैनिकको ज्यान गएको पुष्टि गरेको थियो।

योसँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ।

चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तमा आफ्ना कति सैनिक हताहत भए भन्नेबारे कुनै विवरण सार्वजनिक भएको छैन।