भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजारले बढ्यो

-


     मर्दी न्युज    
     ३ असार २०७७ मा प्रकाशित


पोखरा, ३ असार । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजारभन्दा बढी थपिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा मात्रै २ हजार ३ जना मृतक थपिएका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३ पुगेको छ ।

तर ती सबै पछिल्लो २४ घण्टामा मात्रै मृत्यु भएका भने होइनन् । महाराष्ट्र र दिल्लीले मृतकको संख्या छुटेको भन्दै सच्याएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो ।

त्यस्तै भारतमा मंगलबार थप १० हजार ९ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ५४ हजार ६५ पुगेको छ । त्यसमध्ये एक लाख ८४ हजार ९ सय ३४ जना निको भएका छन् । एक लाख ५५ हजार २ सय २७ जना भने उपचारका क्रममा रहेका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका एक लाख १३ हजार ४ सय ४५ संक्रमित फेला परेका छन् भने महाराष्ट्रमा मात्रै पाँच हजार ५ सय ३७ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६ सय ८८ संक्रमित भेटिँदा एक हजार ८ सय ३७ को मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५ सय ७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।