सुर्खेत, ४ असार । गत असार १ गते सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपोर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् ।
भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा बसेपछि आरडीटी परीक्षणमा रिपोर्ट नगेटिभ आएपछि घर फिर्ता भएकी थिइन् । जेठ ३० गते घरबाट हराएको र असार १ गते झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
पोष्टमार्टम गर्न मेहेलकुना अस्पताल ल्याएपछि डाक्टरहरूले मृत्तक क्वारेन्टाइनमा बसेकाले कोरोना परीक्षण गर्नुपर्ने भनेपछि स्वाब सङ्कलन गरिएको थियो ।
यस्तै, अर्घाखाँचीको शीतगङ्गाको क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका पुरुषको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा बुधवार शीतगङ्गा नगरपालिका–५,गल्दाका ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले बताए ।
आरडीटी परीक्षणमा पोजिटिभ देखिएका उनले गएराति क्वारेन्टाइननजिकको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । कार्यविधि अनुसार मृतकको शव व्यवस्थापन भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।