पोखरा, ६ असार । गण्डकी प्रदेशका ७ जिल्लाका गरी शनिवार ५८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार बिहान जारी गरेको विज्ञप्तिअनुसार संक्रमितहरुमा तनहुँ जिल्लाका २५ जना, नवलपुरका १६ जना, गोरखाका ५ जना, म्याग्दीका १ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना र बागलुङका ८ जना गरी ५८ रहेका छन् ।
शनिवार संक्रमितमध्ये कास्कीका मादी गाउँपालिकाका १९ वर्षीया बालिकासमेत रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
संक्रमितमध्ये तनहुँको ऋषिङ गाउँपालिकामा २१ जना, व्यास नगरपालिकामा २ जना, शुक्लागण्डकी नगरपालिका २ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी गराएको छ । त्यस्तै नवलपुर जिल्लाको बुलिङटार गाउँपालिकामा ११ जना, बोदीकाली गाउँपालिकामा १ जना, मध्यविन्दु नगरपालिकामा २ जना, विनयत्रिबेणी गाउँपालिकामा १ जना र देवचुली नगरपालिकामा १ जना रहेका छन् ।
त्यस्तै गोरखाको भीमसेन नगरपालिकामा ५ जना, म्याग्दीको मालिका गाउँपालिकामा १ जना, कास्कीको मादी गाउँपालिकामा २ जना, स्याङजाको पालिका नखुलेको १ जना र बाग्लुङको काठेखोलाका १ जनामा संक्रमित भेटिएको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए ।
संक्रमित सबै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको शर्माले बताए ।