आज नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिँदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण भए तापनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिने वरिष्ठ खगोलविद् एवम् वाल्मीकी विद्यापीठ ज्योतिष विषयका सहप्राध्यापक जयन्त आचार्यले बताएका छन् । उनका अनुसार अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट वलय सूर्यग्रहण देखिनेछ ।
कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट यो वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । नेपालकै भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । पोखरा तथा काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने आचार्यको भनाइ छ ।
चन्द्रग्रहण हेर्दा आँखामा कुनै असर गर्दैन भने पनि सूर्यग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ । आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायी रुपमा नै नष्ट हुन गई मानिस सदाका लागि अन्धोसमेत हुन सक्छ ।
चिकित्सकहरुका अनुसार सूर्यग्रहण नाङ्गो आँखाले कहिले पनि हेर्नु हँदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ । ग्रहण हेर्न बनाइएको विशेष चस्माको प्रयोग गरी ग्रहण हेरेमा कुनै नोक्सानी हुन्न । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाई छाया हेर्नु नै हो ।
धार्मिक समुदायका मानिस ग्रहणका बेला दान दक्षिणा गर्दा विशेष फल मिल्ने विश्वास गरी नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी शुद्ध हुने र दान दिने गर्छन् । तान्त्रिकहरु ग्रहण लागेका बेला मन्त्र सिद्ध हुने विश्वासका साथ साधना गर्छन् ।
पञ्चाङ्ग निर्णायक समितका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट बिहान १०ः५० बाट सुरु भई अपरान्ह २ः२३ मा समाप्त हुँदै छ । बिहानको १२ः३८ मा सूर्यलाई हामीहरुले करिब ८८ प्रतिशत ढाकेको देख्छौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महसुस गर्नेछन् । आज दुईपटक बिहान भएको पो हो कि भन्ने अनुभव सबैले गर्नेछन् ।
धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् ।
कहाँबाट हेर्न सकिन्छ सूर्यग्रहण?
सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसैगरी नेपाल एष्ट्रोनोमिकल सोसाइटीले बत्तीसपुतलीस्थित कार्यालयबाट युट्युब च्यानलमार्फत् सूर्यग्रहणको प्रत्यक्ष प्रसारण गर्नेछ ।