गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिए

-


     मर्दी न्युज    
     ७ असार २०७७ मा प्रकाशित


पोखरा, ७ असार । गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये स्याङ्जामा १०, बागलुङमा ५, कास्कीमा २, नवलपुर र तनहुँमा १÷१ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका २ संक्रमितमध्ये १ जना पोखरा महानगरका–१४ का ४० वर्षे पुरुष रहेका छन् भने अर्का संक्रमित मादी गाउँपालिकाका १९ वर्षे पुरुष हुन् । पोखरा महानगरपालिका स्रोतका अनुसार आज संक्रमण पुष्टि भएका पुरुष २ असारमा कोरोना संक्रमण पुष्टि भएका ९० वर्षे वृद्धका छोरा हुन् । कन्ट्याक ट्रेसिङमा परेपछि महानगरकै क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाका संक्रमितहरुमा ६ जना चापाकोट नगरपालिकाका र २ जना गल्याङ नगरपालिकाका हुन् । त्यस्तै बागलुङका संक्रमितमध्ये गलकोट नगरपालिकाका ३ जना, बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकाका १र१ जना छन् । नवलपुरका संक्रमित गैंडाकोट नगरपालिका र तनहुँका संक्रमित व्यास नगरपालिकाका हुन् ।

आज बिहान मात्रै गण्डकी प्रदेशका ४ जिल्लाका गरी १६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय २३ पुगेको छ ।



Tags: