एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ ।
केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १५ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै देशभर कोरोना भाइरसबाट संक्रमितको कुल संख्या चार लाख नाघेको छ ।
भारतको महाराष्ट्र राज्यमा सर्वाधिक संख्यामा संक्रमितहरू फेला परेका छन् । त्यसपछि तामिलनाडु र दिल्ली धेरै प्रभावित भएका राज्यहरु हुन् । त्यस्तै नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, उत्तर प्रदेश, बिहार तथा उत्तराखण्ड राज्यमा संक्रमित व्यक्ति भेटिने क्रम जारी रहेको तथ्याङ्कले देखाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ सय ६ जनाको मृत्यु भएको सरकारले बताएको छ । यससँगै भारतमा मृतकको संख्या १३ हजार २ सय ५४ पुगेको छ ।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ ।
भारतमा कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले लामो सयदेखि लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ । प्रतिबन्धहरू खुकुलो पारिँदा संक्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ । विज्ञहरुले भारतमा संक्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ ।