सुर्खेत, ९ असार । कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मङ्गलबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले कोरोना सङ्क्रमणका कारण उनको मृत्यु भएको जानकारी दिए । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।
उनको अवस्था गम्भीर भएकोले सिधैं आईसीयूमा राखेर उपचार गरिए पनि मंगलबार मृत्यु भएको डाक्टर पौडेलले बताए ।
मृतकले लामो समयदेखि क्षयरोगको उपचार गराइरहेका थिए ।
दैलेखबाट आएको भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको थियो । रिर्पोट पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने खुलेको छैन ।