नेकपा स्थायी कमिटी बैठक बस्दै

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान ११ बजे बस्ने बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

बैठकमा एमसिसी परियोजनाले प्राथमिकता पाउने भएको छ। बैठकको एजेन्डा तय गर्न मंगलबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घन्टाभन्दा बढी छलफल भएको थियो। यसअघि शनिबार र आइतबार पनि दुई अध्यक्षले छलफल गरेका थिए।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।

यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धूम्रबाराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।