शहरबाट घलेगाउँ फर्कनेलाई क्वारेन्टाइनमा

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


लमजुङ, १० असार । क्होलासोँथर गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिका प्रवेश गर्ने जोकोहीलाई क्वारेन्टाइनमा राखेर मात्र पठाउने गरेको छ । यसअघि कडाइका साथै लागू गरेको लकडाउन देशमा खुकुलो भएसँगै गाउँ प्रवेश गर्ने जोकोहीलाई क्वारेन्टाइनमा राखेर मात्र पठाउने गरिएको घलेगाउँबाट हाम्रा सम्वाददाताले बताए ।

गाउँपालिकाको प्रवेशद्वार वडा नं. १ मा कडाइका साथ चेकजाँच गरी १४ दिन क्वारेन्टाइनमा राखेर मात्र घर पठाइएको छ । सोहीअनुसार पाँचदिन अघि काठमाडौंबाट घर फर्किएका एक पुरुष, मंगलवार पोखराबाट गएका १ महिला र २ पुरुष तथा बेंशीशहरबाट घलेगाउँ गएका २ महिला र १ पुरुष गरी ७ जनालाई वडा नं. ३ स्थित श्रीघले उत्तरकन्य प्रा विको क्वारेन्टाइनमा राखिएको छ । लामो समय बन्दाबन्दीका कारण घर फर्किन नपाएकाहरु केही खुकुलो भएसँगै १४ दिन क्वारेन्टाइनमा बस्ने सर्तसहित गाउँ गएका थिए ।

तस्विरः गंगा घले

क्वारेन्टाइनमा रहेकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने कार्य भइरहेको गंगा घलेले जानकारी दिए ।

‘संक्रमण फैलिन नदिनका लागि गाउँपालिका एकदमै सचेत छ,’ गाउँपालिकाका प्रमुख प्रेम घलेले भने, ‘कबुलियतनामा उल्लङ्घन गर्ने जोकोहीलाई कारबाही हुन्छ ।’

शहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै सङ्क्रमण पनि भित्रिने खतरा बढेकोले कडाई गरिएको उनले बताए ।

तस्विरः गंगा घले