रुकुम घटनामा वडाध्यक्षसहित २३ जनालाई थुनामा पठाउन अदालतको आदेश

-


     मर्दी न्युज    
     १० असार २०७७ मा प्रकाशित


रुकुम पश्चिमको चौरजहारी काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

रुकुम पश्चिम जिल्ला अदालतले चौरजहारी नगरपालिका वडा नं ८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटीका बाबुसहित २३ जनालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बुधबार बेलुका अवेर अदालतले केटीकी आमालाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ। त्यस्तै इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई भने साधारण ताखेरमा छोड्न जिल्ला अदालतले आदेश दिएको छ।

पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए ।

प्रेमिका भनिएकी युवतीसहित दुई जनालाई बाल सुधार गृहमा राख्न यसअघि नै अदालतले आदेश दिइसकेको छ । घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सबैलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो । त्यसक्रममा नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेकाे अनुसन्धानमा भाग्दै गरेको नवराजकाे समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेकाे थियाे ।