कोरोना संक्रमितको शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध

-


     मर्दी न्युज    
     ११ असार २०७७ मा प्रकाशित


पोखरा । पोखरामा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले फेरि पनि अवरोध गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जा सिरुबारीका संक्रमितको शव पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा व्यवस्थापन गर्न खोज्दा स्थानीयले टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

डोजरले खाल्डो खन्न थालेको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले शव लैजान अवरोध गरेका थिए ।
स्थानीयसँग भएको झडपमा सशस्त्र प्रहरीको भ्यान र नेपाल प्रहरीको मोटरसाइकल तोडफोड भएको छ । शव व्यवस्थापन गर्न नदिने अडानसहित विरोधमा उत्रिएका स्थानीयले नेपाल प्रहरीको २ बाइक, १ स्कुटर र सशस्त्रको एउटा भ्यानमा तोडफोड गरेका हुन् ।

स्थानीय तोडफोडमा उत्रिएपछि सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । तोडफोडमा उत्रिएका ८ स्थानीयलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
‘हामी शव व्यवस्थापन गरेर फर्किँदै थियौं । त्यस क्रममा स्थानीयबासी मजुवाको डेस्क तोडफोड र ढुंगामुढामा उत्रिनुभयो,’ प्रवक्ता हमालले भने, ‘त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो ।’

स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव व्यस्थापन गर्ने क्रममा झडप भएको हो । उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो ।

डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो । योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।