पोखरा, ११ असार । तनहुँ र नवलपुरका दुई जिल्लामा गरी थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँको म्याग्दे गाउँपालिकाका २ महिलासहित ७ पुरुष गरी ९ जना र नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका १ महिलासहित ४ जना गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा तनहुँ र नवलपुरका १४ जनामा कोरोना पुष्टि भएको निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको उनले बताए ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ६७ पुगेको छ । कोरोनाबाट गण्डकीमा मृत्यु हुनेको संख्या २ छ । प्रदेशका संक्रमितमध्ये हालसम्म ९१ जना निको भई घर फर्केका छन् ।