पोखरा । नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दुई जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मृत्यु हुनेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–१ सिरुवारीका ५५ वर्षीय पुरुष र चितवन घर भई ललितपुरस्थित महालक्ष्मी ५ का ४९ वर्षीय पुरुष रहेका छन् ।
स्याङ्जाका ५५ वर्षीय पुरुष पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचारत थिए । उनमा निमोनिया र मधुमेहको पनि समस्या रहेको थियो । उनको गएराती मृत्यु भएको हो ।
त्यसैगरी महालक्ष्मी ५ ललितपुरका एक पुरुषको पनि मृत्यु भएको छ । उनको असार ११ गते बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुषको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण भएको थियो ।
बिहीबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको जनाए ।