स्याङ्जा, १२ असार । कोरोना भइरस (कोभिड १९)का कारण देशमा जारी बन्दाबन्दीका कारण दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु मारमा परेका छन् । श्रमिकको समस्यालाई मध्यनजर गर्दै ‘ग्रो’ संस्थाका फाउण्डर हेडेन रुइ अर्थात् नेपाली नाम ‘सुन्दर’ ले विपन्न तथा दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्दै आएका पुतलीबजार नगरपालिका वडा नं. २ भैंसेगौंडाका ४७ घरपरिवारलाई राहात वितरण गरेको छ ।
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मूलूक बन्दाबन्दीमा भएपछि दैनिक गासको असहजता भएका परिवारलाई राहात वितरण गरिएको ‘सुन्दर’ले जनाएको छ ।
शुक्रवार पुतलीबजार नगरपालिका २ भैंसेगौंडास्थित गाउँका ४७ परिवारलाई पचास हजार बराबरको चामल, दाल, तेल, चिनि, साबुन लगायतका दैनिक उपभोग्यवस्तुहरु राहात स्वरुप वितरण गरिएको हो ।
राहात वितरण सहज गराउनको लागि मिलेनियम पदमार्ग व्यवस्थापन समितिका सदस्य तथा मिलेनियम–भैंसेगौंडा समुदायिक होमस्टेका अध्यक्षसमेत रहेका बालकुमार गुरुङले सहजीकरण गरेका थिए ।