गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ सय नाघ्यो

-


     मर्दी न्युज    
     १२ असार २०७७ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेशमा शुक्रवार साँझ थप १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको अध्यावधिक विज्ञप्तिअनुसार ४ जिल्लाका गरी १४ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो विवरणअनुसार लमजुङ जिल्ला मध्यानेपाल नगरपालिकाका ५ जना, बेंसीशहर नगरपालिकाका १ जना, कास्कीका मादी गाउँपालिकाका १ जना, गोरखा पालुङटार नगरपालिकाका २ जना, भीमसेन थापा गाउँपालिकाका ३ जना र पर्वत फलेवास नगरपालिकाका १ र मोदी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

आज बिहान प्रदेशमा २५ संक्रमितको पुष्टि भएको थियो । शुक्रवार मात्रै प्रदेशमा ३९ जना संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा संक्रमितको संख्या ८ सय ६ पुगेको छ ।

शुक्रवार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना भएका १७ जना कोरोना निको भएर घर फर्किएका छन् ।

कोरोना निको भएर फर्किनमा १२ पुरुष र ५ महिला गरी १७ जना रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतलका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

योसँगै प्रदेशमा निको भइ घर फर्किनेको संख्या १ सय १८ पुगेको छ ।