महाशिला गाउँपालिकालाई होमियोप्याथिक औषधी आर्सेनिक एल्बम ३० वितरण

-


     मर्दी न्युज    
     १३ असार २०७७ मा प्रकाशित


पोखरा । आम नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन तमु प्ये ल्हु संघको समन्वयमा महाशिला गाउँपालिकालाई होमियोप्याथिक औषधि आर्सेनिक एल्बम ३० वितरण गरेको छ ।

अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशको तत्वाधानमा तथा तमु प्ये ल्हु संघको समन्वयमा किरण होमियोप्याथिकले आज शनिवार पोखरामा महाशिला गाउँपालिकालाई होमियोप्याथिक औषधि आर्सेनिक एल्बम ३० वितरण गरेको हो ।

होमियोप्याथिक औषधी वितरण कार्यक्रममा महाशिला गाउँपालिकाका अध्यक्षले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथापमको लागि परम्परादेखि पुर्खाले प्रयोग गर्दै आइरहेको जुडिबुटीको माध्यमबाट रोग लाग्नुभन्दा रोग लाग्न नदिनको लागि पूर्वतयारी स्वरुप गाउँपालिका लागेको बताए । सोहीअनुसार होमियोप्याथिक औषधीलाई पालिकामा लगेर वितरण गर्ने उनले जानकारी दिए ।

गाउँपालिकामा अधिकांश गुरुङ जाति रहेको बताउँदै उनले गुरुङको संस्कार संस्कृतिलाई असर नगर्ने गरी रक्सी सेवनलाई नियन्त्रण गर्न तमु प्ये ल्हु संघलाई सहकार्य गर्न आव्हान गरे ।

अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले होमियोप्याथिक औषधी अहिलेको भाईरस विरुद्ध बढि प्रभाबकारी भएको र यसको कुनै पनि असरहरु नहुने बताउँदै मेडिकल साईन्सबाट समेत पुष्टि भएको बताए । उनले होमियोप्याथिक औषधी तथा उपचार पद्धति धेरै पुरानो पद्धति भएको र यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने बताए ।

सो अवसरमा उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरससँग लड्ने क्षमता होमियोप्याथिक औषधीमा हुने भएकाले अन्य एलोप्याथिक औषधी सेवन गरिराखेकाहरुले पनि सेवन गर्न सकिने बताए ।

‘यो होमियोप्याथिक औषधी अहिलेको भाईरसविरुद्ध बढि प्रभाबकारी छ, मधुमेह, उच्च रक्तचापलगायतका रोगको औषधी सेवन गरिराखेकाहरुले पनि यसलाई सहजै सेवन गर्न सकिन्छ’, उनले भने, ‘यसको असरहरु नहुने मेडिकल साईन्सबाट समेत पुष्टि भएको छ ।’

भारतमा होमियोप्याथिक औषधीको प्रभावकारिताले धेरै कोरोना संक्रमितको उपचार भएको बताउँदै यो प्रभावकारी भएको बताए । ‘जीवन बचाउन तत्कालन चाल्नुपर्ने कदममा एलोप्याथिक चलाउनु पर्ने हुन्छ’ उनले भने, ‘दीर्घकालको लागि होमियोप्याथिक उपयुक्त औषधी हो, यो सर्वसुलभ रुपमा उपलब्ध पनि छ ।

डा. चापागाईंले जनताले सर्वसुलभ रुपमा उपलब्ध हुने होमियोप्याथिकमा सरकारले विभेद गरेको बताए । उनले होमियोप्याथिकलाई सरकारी तवरबाटै अघि बढाउन माग गरे ।

तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङले सबै नेपालीको रोग प्रतिरोध क्षमता बृद्धि गर्नको लागि तमु प्ये ल्हु संघ लागि परेको बताउँदै होमियोप्याथिक औषधी आर्सेनिक एल्बम–३० वितरण गर्दै आइरहेको बताए । त्यस्तै संघले संघमा आबद्ध समाज लगायत स्थानीय तहलाई पनि आर्सेनिक एल्बम–३० वितरण गरेको हो ।

उक्त होमियोप्याथिक आर्सेनिक एल्बम ३० किरण होमियोप्याथिक, पाइला फिल्मस् प्रा. लि.को व्यानरमा बनेको ङ्हेल्स्यो (सैना) युनिट र मिलन फाउण्डेशनले उपलब्ध गराएको हो ।

कार्यक्रमको सहजीकरण तमु प्ये ल्हु संघका महासचिव हर्क गुरुङले गरेका थिए ।