पोखरा । पर्वतको एक संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्ने अभियानमा महाशिला गाउँपालिका लागेको उक्त पालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए ।
सामुदायिक विद्यालयमा प्रभावकारी ढंगबाट व्यावसायिक शिक्षाको पठनपाठन हुन सकेमा मात्र बेरोजगारीको समस्याको अन्त्य हुने ठहर गर्दै त्यस अभियानमा महाशिला गाउँपालिका लागेको उनले शनिवार पोखरामा होमियोप्याथिक औषधी आर्सेनिक एल्बम ३० हस्तान्तरण कार्यक्रममा बताएको हो ।
‘संस्थागत विद्यालयलाई सामुदायिक विद्यालयमा रुपान्तरण गर्ने पहिलो महाशिला गाउँपालिका बन्ने छ’, उनले भने, केही दिनभित्रै औपचारिक कार्यक्रम गरी यसको घोषणा गरिने छ ।’
पर्वतको लिङ्खु देउराली बोर्डिङ स्कुललाई सामुदायिकमा रुपान्तरण गर्ने अभियानमा गाउँपालिका लागेको उनले जनाए ।
यस्तै अध्यक्ष पौडेलले पर्वत जिल्लाको महाशिला गाउँपालिकामा परापूर्वकालदेखि चलि चलाई आएको जडिबुटी खेतीलाई व्यवसायिक खेतीको लागि बजेट विनियोजन गरेपनि त्यसलाई पहिचान गर्ने र खेती लगाउने व्यक्ति अभाव भएको भन्दै पालिकाले व्यवसायिक शिक्षातर्फ जोड दिन लागेको बताए । उनले गाउँपालिकाका ६ वटै वडाहरुमा अधिकांशमा गुरुङ जातिको बसोबास रहेको भन्दै हाल आएर लाहुरे संस्कृतिले देशलाई रित्तो बनाएको बताए ।
तमु प्ये ल्हु संघको समन्वयमा भएको कार्यक्रममा गुरुङको मौलिक पहिचानलाई संरक्षण गर्न मौलिकतालाई प्रबद्र्धन र संरक्षण गर्दै आएको तमु प्ये ल्हु संघलाई सहकार्य गर्न सकिने बताए । अध्यक्ष पौडेलले तमुको मौलिक क्होइबो धी निर्माण, क्ल्हेप्री र वोन्पो लमले लगाउने पहिरनको निर्माण तथा संरक्षणमा सहकार्य गर्न सकिने बताउँदै त्यसको लागि आवश्यक रकम विनियोजन गर्न गाउँपालिका तयार रहेको बताए ।
तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी तमुको अध्यक्षतामा भएको होमियोप्योथिक औषधी हस्तान्तरण कार्यक्रमको सञ्चालन महासचिव हर्क गुरुङले गरेका थिए ।