कोरोना संक्रमणबाट विश्वभर ज्यान जानेको संख्या करिब ५ लाख, संक्रमितको संख्या झण्डै एक करोड

-


     मर्दी न्युज    
     १४ असार २०७७ मा प्रकाशित


पोखरा, १४ असार । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या करिब ५ लाख छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार आइतबार बिहानसम्म कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ९८ हजार १३५ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म एक लाख २५ हजार ५०४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा ५७ हजार ७० जनाले संक्रमणका कारण ज्यान गुमाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको बेलायतमा ४३ हजार ५९८, इटलीमा ३४ हजार ७१६ तथा फ्रान्समा २९ हजार ७८१ मानिसले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै विश्वभर संक्रमितको संख्या पनि झण्डै एक करोड छ । उक्त विश्वविद्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म संक्रमितको संख्या ९९ लाख ४९ हजार ७६७ छ ।

सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या अमेरिका छ । अमेरिकामा हालसम्म २५ लाख ७ हजार ८७४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा १३ लाख १३ हजार ६६७ जनामा संक्रमणको पुष्टि भइसकेको छ भने रुसमा ६ लाख २६ हजार ७७९, भारतमा ५ लाख ८ हजार ९५३ र बेलायतमा ३ लाख ११ हजार ७२७ जनामा संक्रमण पुष्टि भैइसकेको छ ।

चीनको वुहान शहरबाट शुरु भएको यस कोरोनालाई जितेर घर फर्किनेको संख्या विश्वभर गरी ५० लाख १३ हजार ५३० जना रहेका छन् । सबैभन्दा धेरै निको हुनेको संख्या ब्राजिलमा रहेका छन् । ब्राजिलमा हालसम्म कोरोनालाई जित्नेको संख्या ७ लाख ९ हजार ७४३ रहेको छ । त्यस्तै अमेरिकामा ६ लाख ७९ हजार ३०८ रहेको छ भने रुसमा ३ लाख ९२ हजार ७०३ जना रहेको छ ।



Tags: