काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा कदम चाल्दा भारतले आफूलाई हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन । आइतबार मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रियताको विषयमा बोल्दा प्रधानमन्त्रीलाई हटाउँछु भनेर नसोच्न सुझाव दिए ।
भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको उनको दाबी छ । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।
‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस ।’
प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताए ।
‘प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन । तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ । त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ ।’
आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने समेत उनले बताएका छन् ।