स्याङ्जा, १५ असार । राष्ट्रिय धान दिवसको अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजना शुभारम्भ भएको छ । राष्ट्रय धान दिवसको अवसर पारेर उक्त परियोजनाको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गरे ।
सोमवार १ सय २४ किसानको १ सय १० रोपनी जमिन चक्लाबन्दी गरिएको हो । गोठिङका किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् ।
प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।
धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएका हुन् । प्रदेश र स्थानीय सरकारले यहाँ किसानलाई सहयोग उपलब्ध गराउँदै छन् ।