पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोना संक्रमित, संक्रमणको संख्या १३ हजार ५६४ पुग्यो

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


पोखरा, १६ असार । नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको जानकारी गराए ।

मंगलवार संक्रमित हुनेमा ७१ महिला र २४५ जना पुरुष रहेको उनले जानकारी दिए । संक्रमित हुनेमा सप्तरीका २५, सिरहाका १०, उदयपुरका २, झापाका ५, सुनसरीका २, संखुवासवाका ३, धनुषाका ३, रौटहटका ७, महोत्तरीका २९, अछामका २७, बाजुराका ५१, काठमाडौंका १२, स्याङ्जाका ४, गुल्मीका १, सिन्धुपाल्चोकका २, गोरखाका १, सर्लाहीका ८, भक्तपुरका १, बागलुङका १, डडेलधुराका ३, ललितपुरका १, अछामका १, बैतडीका ४, डोटीका १५, म्याग्दीका १, कास्कीका ९, लमजुङका ३, तनहुँका ६, अर्घाखाँचीका ७, पाल्पाका १८, सल्यानका २, दाङका २१, रुकुम पश्चिमका ८, बाँकेका १, दैलेखका ३, डोटी १५ र कैलालीका ५ जना रहेका छन् ।

यो सँगै संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ ।

मंगलवारसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताए । यस्तै आरडीटी विधिबाट हालसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा ५३ हजार ७० जना रहेका छन् भने १० हजार ३ सय ४१ जना विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा ९ महिला र ५१ जना पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १३ पुगेको छ ।



Tags: