दाहाल, नेपाल, खनाल र गौतमले मागे प्रधानमन्त्री ओलीको राजीनामा

-


     मर्दी न्युज    
     १६ असार २०७७ मा प्रकाशित


सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको मनमुटाव सार्वजनिक रूपमै प्रकाट भएको छ । मंगलवार सचिवालय बैठकमा खास एजेन्डामा प्रवेश नगरी प्रधानमन्त्रीको राजीनामा केन्द्रित भएको छ ।

बैठकको सुरुमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेको त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्री ओलीले राजीनामा दिएर निकास दिन माग गरेको एक नेताले बताए ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए । उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए ।

‘पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा भारतले होइन मैले मागेको हुँ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘तर, मैले राजीनामा आज होइन वैशाख १७ गते मागेको हुँ। त्यो बेला नयाँ नक्सा जारी भएको थिएन।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई लिएर सोमबार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो। छलफलमा यस्तो गम्भीर अभिव्यक्ति पार्टीको आन्तरिक बैठकमा नभनेर सार्वजनिक रुपमा भन्नु गलत भएको ठहर नेताहरुले गरेका थिए। प्रधानमन्त्रीले यस्तो सूचना पाउँदा राजदूतलाई बोलाएर स्पष्टिकरण सोध्नुको साटो सार्वजनिक रुपमा भन्नु गलत भएको नेताहरुको भनाइ छ।