काठमाडौं । नेकपा (एमाले) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको विषयमा नेकपा बैठकमा छलफल भएको छ ।
झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसँग यसबारेमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरुले जवाफ माग गरेका थिए ।
बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी स्थायी समिति बैठकमा नेकपा एमाले पार्टी दर्ताका लागि आयोगमा निवेदन परेकाे विषयमा छलफल भएको बताए । बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पार्टीकै कसैको संलग्नतामा दर्ताका लागि निवेदन पर्यो कि अन्य कसैले दर्ता गरेको हो भन्नेबारे प्रश्न उठाएका थिए ।
श्रेष्ठका अनुसार सो विषयमा प्रधानमन्त्री केपी ओलीले आफू नेकपाकै अध्यक्ष भएको भन्दै आफू जानकार नरहेको जवाफ दिएका थिए ।
‘नयाँ दल नेकपा एमाले दर्ता गर्न निर्वाचन आयोगमा दुई दिनअघि आवेदन परेको भन्ने सुन्नमा आयो । यसमा हाम्रो पार्टीका नेता कार्यकर्ता कसैको संलग्नता छ कि छैन भन्ने प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले बैठकमा विषयवस्तु प्रवेश गराउनु भयो र त्यसबारे छलफल भयो,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने।
मंगलबारको बैठकमा प्रधानमन्त्रीले सरकार ढलाउन लागेको भनी दिएको अभिव्यक्ति र नेकपा एमाले दल दर्ताका विषयमा छलफल भएको थियो ।