आफ्नो नाम भन्न पाउने अधिकारका लागि अफगान महिलाको अभियान

-


     मर्दी न्युज    
     ८ साउन २०७७ मा प्रकाशित


पश्चिम अफगानिस्तानमा एकदमै ज्वरो आएपछि एक महिला स्वास्थ्य परीक्षण गराउन गइन । चिकित्सकले उनलाई कोभिड–१९ भएको बताए । दुखाइ र ज्वरोले शिथिल रबिया (नाम परिवर्तित) घर फर्किन् र उनले चिकित्सकले लेखिदिएको औषधिको कागज पतिलाई दिइन ।

त्यो कागजमा पत्नीको नाम देखेर उनी धेरै रिसाए । “अपरिचित पुरुष”लाई नाम बताएको भनेर उनले रबियालाई पिटे । अफगानिस्तानमा प्रायः परिवारका सदस्यहरूले घरबाहिरको कुनै पुरुषलाई नाम नखुलाउन महिलाहरूलाई दबाव दिन्छन । तर अहिले केही महिलाहरू त्यो परम्पराविरुद्ध बोल्न थालेका छन ।

विरोधमा अभियान
यो विभेदपूर्ण परम्पराको बीजारोपण छोरीको जन्म भएकै बेला हुन्छ । छोरीको नाम राख्न वर्षौँ लाग्छ । विवाहको निम्तोमा महिलाको नाम उल्लेख हुँदैन । बिरामी पर्दा चिकित्सकलाई उनको नाम भन्न दिइँदैन । सहर समेत यस्तो अधिकारका लागि बोलिरहेकी छन । उनी यसलाई आफ्नो मौलिक अधिकार भन्छिन् । अनि मृत्यु भएपछि मृत्युको प्रमाणपत्रमा वा चिहानको ढुङ्गामा पनि महिलाको नाम लेखिँदैन ।

यही कारणले अहिले अफगानिस्तानका केही महिलाहरूले आफ्नो नाम स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनुपर्ने मागसहित अभियान चलाइरहेका छन ।
#whereismyname (मेरो नाम कहाँ छ) नारा लेखिएको पोस्टर धेरै ठाउँमा टाँसिएको छ र सामाजिक सञ्जालमा पनि मानिसहरूले त्यसबारे लेखिरहेका गरेका छन ।

‘मेरो बुवा, दाजुभाइ र विवाह गर्ने केटाको इज्जत’
हेरात प्रान्तकै अर्की महिलाले बीबीसीसँग आफ्नो परिचय खुलाउन चाहिनन् र रेडिओका लागि बोल्न पनि मानिनन । उनले भनिन्, “जब कसैले मलाई मेरो नाम सोध्छ तब म मेरो बुवा, दाजुभाइ, विवाह गर्ने केटाको इज्जत सम्झेर नाम भन्न अस्वीकार गर्छु ।

“मैले किन मेरो परिवारलाई निराश बनाउनू? मेरो नाम उल्लेख गर्नुको अर्थ के छ?“ “मलाई मेरो बुवाको छोरीको रूपमा वा दाइको बहिनीको रूपमा चिने हुन्छ । अनि भविष्यमा पनि मलाई मेरो पतिकी पत्नीकी रूपमा र छोराकी आमाको रूपमा चिने हुन्छ ।“
यी कथाहरू आश्चर्यलाग्दा भए पनि नौला भने होइनन । महिलाको नाम प्रयोग गर्नुलाई अफगानिस्तानका थुप्रै क्षेत्रमा अझै पनि परिवारको प्रतिष्ठाविरुद्ध मानिन्छ ।

अफगानिस्तानका पुरुषहरू आफ्ना आमा, दिदीबहिनी र पत्नीको नाम सार्वजनिक स्थलमा लिँदैनन् किनभने यसलाई लज्जाजनक र अपमानका रूपमा लिइन्छ । अफगानिस्तानमा जन्मदर्ताको प्रमाणपत्र बनाउँदा पनि बुवाको नाम मात्रै उल्लेख गर्नुपर्छ ।

पतिको ’अनुपस्थिति’

यसले व्यावहारिक कठिनाइ मात्रै नभई भावनात्मक असर पनि निम्त्याउँछ । बालविवाह भएकी फरिदा सदातले १५ वर्षको उमेर पहिलो सन्तान जन्माइन्। उनी र उनका पति छुट्टिए र उनी चार सन्तानसहित जर्मनी गइन् । उनका पतिको भौतिक वा भावनात्मक कुनै उपस्थिति आफ्ना सन्तानको जीवनमा नभएको उनी बताउँछिन । त्यसैले उनलाई आफ्ना सन्तानको परिचयपत्रमा पतिको नाम उल्लेख गर्नु अनुपयुक्त लाग्छ ।


“मेरा सन्तानलाई मैले एक्लै हुर्काएकी हुँ । मलाई अर्को विवाह गर्न नदिन मेरा पूर्वपति छोडपत्र गर्न मानेका छैनन् । “अहिले मैले पनि मेरा सन्तानको परिचयपत्रमा उनको नाम उल्लेख गर्न मानेकी छैन। अफगानिस्तानमा पुरुषहरूको मेरो पूर्वपतिका जस्तै थुप्रै श्रीमती हुन्छन् र उनीहरूले बालबालिकाको रेखदेख गर्दैनन्। म अफगानिस्तानका राष्ट्रपतिलाई आमाको नाम बच्चाको जन्मदर्ता र परिचयपत्रमा उल्लेख गर्ने कानुन बनाउन माग गर्छु।“

अभियानको थालनी


“यो यस्तै भइरहन सक्दैन,“ २८ वर्षीय अफगान महिलालाई तीन वर्षअघि यस्तो लागेको थियो । हेरात प्रान्तकी लालेह उस्मानीले दिक्क भएर “मेरो नाम कहाँ छ“ भन्ने अभियान सुरु गरिन । महिलाहरूले आफ्नो पहिचानसम्बन्धी आधारभूत अधिकार पाउनुपर्छ भन्ने उनको धारणा थियो ।

बीबीसी अफगान सेवासँग बोल्दै उस्मानीले आफू र आफ्ना साथीहरूले किन अफगानिस्तानका महिलाहरूलाई परिचय खुलाउन दिइएको छैन भनेर खासगरी महिलाहरूलाई प्रश्न गरिएको बताइन् । “यो अभियान सुरु भएपछि सरकारलाई जन्मदर्तामा किन बुवाको मात्रै नाम छ र महिलाको नाम उल्लेख गरिँदैन भनेर झक्झाउने उद्देश्य एक कदम अगाडि बढेको छ,“ उनले भनिन् ।

उनका अनुसार बीबीसी अफगान सेवाले यो अभियानबारे समाचार बनाएपछि सांसद मारियम सामाले यो अभियानबारे संसद्मा बोलिन् । उनले जन्मदर्तामा आमाको नाम पनि उल्लेख हुनुपर्ने कुरा उठाइन् र यो विषयमा थप छलफल हुनुपर्ने विषयमा समर्थन रहेको भन्दै ट्वीट पनि गरिन् ।

उस्मानीको अन्तर्वार्ता बीबीसीको फेसबुक पेजमा राखिएपछि केहीले समर्थन र धेरैले त्यसको आलोचना गरेका थिए । तर केही चर्चित व्यक्तित्वले यो अभियानमा साथ दिएका छन् । सङ्गीतकार तथा गायक फरहाद डा¥या र गायिका तथा गीतकार अ¥यना साइद तिनै चर्चित व्यक्तिमध्येका हुन् ।

अफगानिस्तानका समाजशास्त्री अलि कावेह भन्छन्, “पितृसत्तात्मक समाज भएको भएर इज्जतको नाममा महिलाहरूलाई घरभित्रै बस्न मात्रै होइन कि नाम लुकाउन पनि बाध्य पारिन्छ। अफगान समाजमा सबैभन्दा असल महिला त्यो हो जसलाई कसैले देखेको छैन र जसका बारेमा कसैले सुनेको छैन ।“

अफगानिस्तानमा तालिबानको शासन ढलेको करिब दुई दशक पुग्न लाग्दा, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले महिलाहरूलाई सार्वजनिक जीवनमा फिर्ता ल्याउने प्रयास गर्दै आएका छन् । तर रबिया जस्ता महिलाहरू आज पनि चिकित्सकलाई आफ्नो नाम भनेकै कारणले पतिबाट कुटाइ खाइरहेका छन् ।

– बीबीसी