
काठमाडौं । काठमाडौंमा गएराति सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मोहम्मद मुन्ना छन् ।
घटना घट्ने बित्तिकै एसिड प्रहार गर्ने व्यक्तिहरूलाई पक्राउ गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाको टोली खटिएको थियो। प्रहरीले सिसिटीभी फुटेजको आधारमा पहिचान गर्दै उनीहरूलाई पक्राउ गरेका हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रौतहटका मोहम्मद आलमले पवित्रा कार्कीलाई एकातर्फी मन पराउँथे । उनले बिहीबार बेलुका पनि ३० भन्दा बढी पटक फोन गरेको पाइएको छ । तर युवतीले उनको फोनको बेवास्ता गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
केटीले अर्को केटा मन पराएको हुदाँ त्यसकै रिसमा एसिड प्रहार गर्न लगाएको बयान दिएको प्रहरीले बताएका छन् । प्रहरीका अनुसार भारतीय नागरिक मुन्नालाई आलमले एसिड प्रहार गर्न लगाएका थिए।