
पोखरा, ९ साउन । पोखरा विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै विद्यार्थीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विश्वविद्यालयमा उच्च पदाधिकारीहरु तत्काल नियुक्तिको माग गर्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय कास्की अगाडि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको सभा, शिक्षक नियुक्ति, परीक्षा, स्ववियुको चुनाव, दीक्षान्त समारोह लगायत काम प्रभावित भएको भन्दै आज जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा शान्तिपूर्ण धर्ना दिए । उनीहरुले आगामी ४ दिनभित्र विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रालगायत रिक्त पद पूर्णकालिन नियुक्ति हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसान ढकालमार्फत कुलपति समेत रहेका प्रधानमन्त्री र शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
४ दिनभित्र आफूहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको उनीहरुले बताएका छन् ।
उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिस्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको पदसमेत रिक्त छ । साथै परीक्षा नियन्त्रक र विभिन्न केन्द्रका कार्यकारी निर्देशक पनि छैनन् ।
तत्कालीन उपकुलपति चिरञ्जीवी शर्माको कार्यकाल गत वर्षकै असोज ७ गते सकिएलगत्तै विश्वविद्यालयको कुलपति तथा प्रधानमन्त्रीको निर्देशनमा डिन बुद्धिराज जोशीको नियुक्ति भएको थियो । तीन महिने उनको कार्यकाल सकिएपछि अहिले विश्वविद्यालय नेतृत्वविहीन बनेको हो ।