पोखरा, १० साउन । काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । घरको मूल ढोकामा नागको तस्वीरसहित नागका अष्ट कूल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजा आराधना गरिन्छ ।
यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक बिश्वास रहिआएको छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ । आजको दिनमा विभिन्न नागको बासस्थान भएका स्थानहरू पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।
बराह पुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रम्हाको सम्वाद भएकाले पनि आजको दिनमा नाग पूजा गर्ने गरिन्छ ।
नागलाई विष्णु र शिवको प्रतीकका रूपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै चल्दै आएको छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुबै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
आज देशभरका नाग दह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।