पोखरा, १० साउन । नेपालमा थप एक सय ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७५ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ३ लाख ३९ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ । पछिल्लो २४ घन्टामा १०६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १३ हजार ५३ रहेको प्रवक्ता डा गौतमले बताए ।
थप एक जनाको मृत्यु
नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको परवानीपुर वडा नं. ८ की १७ वर्षीया युवती रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।
उनको शुक्रवार गण्डक कोभिड अस्पतालमा मृत्यु भएको हो । साउन ८ गते बिहीवार स्वाब संकलन गरिएको उनको शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।