पूर्व मन्त्री सुनीलबहादुर थापासहित राप्रपाका ३१ जना नेताले दिए सामुहिक राजीनामा [नामावलीसहित]

-


     मर्दी न्युज    
     १० साउन २०७७ मा प्रकाशित


काठमाडौं । राप्रपाका नेता सुनिल थापासहित ३१ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टी अध्यक्षत्रयलाई राजीनामा बुझाएका हुन् ।

पार्टीलाई सिद्धान्त, पद्धति र विधिअनुसार चलाउन आग्रह गर्दा नेतृत्व तहबाट त्यसको पालना नभएको भन्दै नेताहरुले एकसाथ राजीनामा दिएको प्रवक्ता किरण गिरीले बताए ।

राजीनामा पत्रमा भनिएको, ुसंविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।’

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापा (धनकुटा), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), पदमबहादुर बस्नेत (धनकुटा), आशाराम चौधरी (कैलाली), किरण गिरी (काठमाडौं), लगायत छन । पार्टी परित्यागको घोषणा गरेका नेताहरु आन्तरिक छलफलमा रहेकाले तत्काल नयाँ पार्टी जन्माउने कि कुनै विचार मिल्ने पार्टीमा प्रवेश गर्नेबारेमा छलफल भइरहेको प्रवक्ता गिरीले बताए ।