
पोखरा । जल तथा मौसम विज्ञान विभागले साउन १२ देखि १६ गतेसम्म मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने हुँदा ३–४ दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुन न्यून चापीय रेखा तराई मधेस नजिक रहने र पर्याप्त जलवास्पयुक्त हावा पनि भित्रिने संभावना रहेकाले प्रदेश नम्बर ५, गण्डकी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही र प्रदेश नं. १ र २ का थोरै स्थानमा भारी वर्षा भई बाढी पहिरोको जोखिम रहेको विभागले उल्लेख गरेको छ ।
आगामी पाँच दिनसम्म बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदुरपश्चिमका भने केही स्थानमा भने भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
साउन १३ देखि १५ गतेसम्म गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ का मध्ये पहाडी भूभागका नदीहरूमा जलसतह बढ्ने विभागले जनाएको छ । विभागका अनुसार भोटेकोशी र बागमतीमा पनि सामान्य बहाव बढ्नेछ ।
चुरेबाट बग्ने साना र मझौला खोलानालाको वहाव बढ्ने संभावना रहेको भन्दै विभागले सर्वसाधारणलाई सावधान रहन र सरोकारवाला निकायलाई सतर्कता अपनाउन भनेको छ ।
