काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । भारत धार्चुलाका उप जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको हो ।
जुलाई १४ मा भारतले पठाएको पत्रमा भनिएको छ,“विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमा पारि आउन चाहन्छन् । मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् । त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।”
नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । नेपाल सरकारले हालै कालापानी नजिक छाङरुमा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट स्थापना गरेपछि त्यहाँ केही गतिविधि बढेको छ । हालै त्यहाँ नजिक सडकको ट्र्याक खोल्ने काम भइरहेको छ ।