
पोखरा, १२ । सोमवार कोरोना पुष्टि भएका मनिपाल शिक्षण अस्पतालका डाक्टरले कोरोना संक्रमितको उपचार गरेको खुलेको छ । मनिपाल अस्पतालका एक चिकित्सकका अनुसार गत बुधबार मृत्यु भएकी चिनियाँ महिलाको उपचारमा समेत यी डक्टर सहभागी थिए ।
स्रोतका अनुसार उनलाई कोरोनाको आशंका समेत थिएन । त्यसैले आफ्नो कामलाई पनि निरन्तरता दिइरहेका थिए । आइतबारसम्मै उनले मेडिकल वार्डमा ड्युटी जारी राखेको खुलेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।
संक्रमित चिकित्सकलाई यसअघि कोरोनाबाट मृत्यु भएकी चिनियाँ महिलाबाट सरेको हुनसक्ने स्वास्थ्कर्मीको भनाइ छ । ती चिनियाँ महिला ३१ असारमा बिरामी परेपछि मध्यराति मनिपाल लगिएको थियो ।
हृदयघात भएको बताएपछि चिनियाँलाई थप उपचारका लागि काठमाडौं रेफर गरियो । सुरुमा ग्रान्डी अस्पताल पुगेकी उनमा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा गत उनको मृत्यु भएको थियो ।
सोमबार कोरोना पुष्टि भएका मनिपालका डाक्टर मनिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्छन् । उनी अस्पतालकै आवासमा बस्छन् । ती चिकित्सकलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ ।