स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित


पोखरा । स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिअनुसार स्याङ्जामा मात्रै १८ जनामा कोरोना भाइरस भएको पुष्टि भएको हो । १८ जनामध्ये एक जना महिला कर्मचारी रहेको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रहरीमा रुघा, खोकी, ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा यसअघि ३ जनामा कोरोना पुष्टि भएपछि अन्य प्रहरीको पनि परीक्षण गरिएको हो । कार्यालयका ९८ प्रहरीसहित ४ जना थुनुवाको नमुना स्वाब संकलन गरी पठाइएकोमा केहीको अझैं आउन बाँकी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

उनीहरुलाई भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा राखिने तयारी भइरहेको पुतलीबजार स्वास्थ्य शाखा प्रमुख बिष्णु काफ्लेले जानकारी दिए ।

स्याङ्जा जिल्लामा संक्रमितको संख्या २ सय २३ पुगेको छ भने १ सय ८३ जना निको भएर घर फर्केका छन् । यसअघि जिल्लामा दुईजनाको भने उपचारका क्रममा मृत्यु भइसकेको छ ।

गण्डकी प्रदेशमा आज मात्रै २४ जना संक्रमणको पुष्टि

प्रदेश स्वास्थ्य निर्देशनालयको अध्यावधिक विवरणअनुसार स्याङ्जाका प्रहरी प्रमुखसहित १८ जना प्रहरी कर्मचारी र कास्कीका २ र लमजुङका २ जना गरी २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कस्कीको रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका एक /एक जनामा कोरोना भाइरस पुष्टि भएको हो । त्यस्तै लमजुङको मध्यनेपाल नगरपालिकाका एक र दूधपोखरी गाउँपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसअघि पोखराका मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक तथा अर्का गण्डकी मेडिकल कलेजकी नर्समा पनि कोरोना देखिएको थियो । प्रदेशमा आजमात्रै २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार तीन सय ९९ पुगेको छ ।



Tags: