सिलवाल दोस्रो पटक राखेप सदस्य सचिव नियुक्त

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०७७ मा प्रकाशित


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा रमेश सिलवाल दोस्रो पटक नियुक्त भएका छन् । मन्त्रिपरिषदको आज सोमबारको बैठकले सिलवाललाई नियुक्त गरेको हो ।
निवर्तमान सदस्य सचिवसमेत रहेका सिलवाल लगातार दुई कार्यकाल सदस्य सचिव बन्ने पहिलो व्यक्ति समेत बनेका छन् । सिलवाल अबको चार वर्षका लागि सदस्य सचिव रहनेछन् ।

२०७६ असार २३ गते राखेपको १८ औं सदस्यसचिव नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि गत असार १७ गते पदमुक्त भएका थिए ।

नयाँ ऐन अनुसार खुला प्रतिस्पर्धात्मक आह्वान गरी सरकारले राखेप सदस्य सचिव नियुक्त गरेको हो । प्रतिस्पर्धामा सिलवालसहित २७ जनाले आवेदन दिएका थिए । राखेप सदस्य सचिव पहिलो पटक खेल छनोटका आधारमा भएको हो ।

यसअघि नेपाल भलिबल संघको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका सिलवाल यसपटक नयाँ खेलकुद विकास ऐन २०७७ का आधारमा छनोट भएका हुन् ।

उक्त समितिले राखेप सदस्य सचिव खुल्ला प्रतिस्पर्धाबाट छनोट गर्न भन्दै आवेदन माग गरेको थियो । त्यसमा सिलवालले पनि आवेदन दिए । सिफारिस समितिले सिलवाल, नेकपा केन्द्रीय सदस्य लिलबहादुर थापा मगर र भलिबलका पूर्वखेलाडी अन्जु श्रेष्ठमध्येबाट सदस्य सचिव नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषदले सिलवाललाई सदस्य सचिवमा नियुक्त गरेको युवा तथा खेलकुद मन्त्रालय स्रोतले जनाएको छ ।