नेकपा स्थायी कमिटी बैठक आज बस्दै

-


     मर्दी न्युज    
     १३ साउन २०७७ मा प्रकाशित


काठमाडौं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।

नेकपामा देखिएको आन्तरिक विवाद टुंग्याउने भनेर दुई अध्यक्षबीच पटक पटक छलफल भएपनि सहमति जुट्न नसक्दा विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस नभएकाले मंगलबार बोलाइएको बैठक राख्ने÷नराख्ने विषयमै मतभेद हुने अवस्था देखिएको छ।

१० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ। पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद कायम छ।
स्थायी समिति बैठक मंगलबार (आज) बिहान ११ बजेका लागि तोकिएको छ। यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताए । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उनले गरे ।

कुल केन्द्रीय सदस्यमध्ये २५ प्रतिशत अर्थात् एक चौथाइ केन्द्रीय सदस्यले बैठक माग गर्न सक्ने पार्टीको अन्तरिम विधानमा व्यवस्था छ । नेकपामा ४४४ केन्द्रीय सदस्य छन् ।