आज दोस्रो दिन पनि काँग्रेसद्वारा प्रदेशसभा अबरुद्ध

-


     मर्दी न्युज    
     श्रावण १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको आजको बैठक पनि अवरुद्ध गरेको छ । असार २३ मा दर्ता गराएको संकल्प प्रस्ताव बैठकको कार्यासूचीमा राख्न माग गर्दै कांग्रेसले हिजो सोमवार पनि सदन अवरुद्ध गरेको थियो । सभामुख नेत्रनाथ अधिकारीले ‘बैठक प्रारम्भ’ भन्नसाथ काँग्रेसका सांसदहरु उठेर विरोध गरेपछि सदन १६ गतेसम्मको लागि स्थगित भएको छ ।

गत असार २३ गते एक घर एक पिसिआर लगायत माग राख्दै कांग्रेसले पहिलोपल्ट संकल्प प्रस्ताव दर्ता गराएकोमा उक्त प्रस्ताव दर्ता भएको एक सातापछि सदनमा छलफलका लागि प्रस्तुत हुने प्रावधान अनुसार त्यो नभएको भन्दै सोमबार र मंगलवारको बैठकको कार्यसूचीमा उक्त प्रस्तावलाई राख्न माग गर्दै काँग्रेसले सदन अबरुद्ध पारेको हो ।

आज मंगलवारको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीलगायत अन्य सभासद्हरुले उठेर विरोध जनाएपछि सभामुखले शुक्रवारसम्मको लागि संसदको बैठक स्थगित गरेका छन् ।