
तस्विरः चुङ्बा शेर्पा
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा भएको पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनबाट सन् २०२२ सम्म बाघ संरक्षण तथा दोब्बर बनाउने उद्देश्यका साथ बाघ पाउने १३ देशहरुले गरेको प्रतिबद्धता अनुसार नेपाल पनि लक्ष्यमा निरन्तर लागि परेको छ ।
एक जमाना थियो राज्यका शासकवर्गका साथै विदेशी पाहुनाहरुलाई मनोरंजनका लागि बाघ शिकार गर्न नेपालका चारकोसे झाडीमा लावा-लस्करका साथ चाहार्ने गरिन्थ्यो । हाल समय बदलिएको छ र सम्पूर्ण राज्यनै यसको संरक्षणमा जुटेको छ र नेपाल सन् २००४ देखि बिश्व बाघ मंचको अध्यक्ष मुलुकको रुपमा समेत कार्यरत छ ।

आहारा प्रजाति:
जंगलमा पाइने प्रजातिहरु मृग चित्तल, जरायो, बँदेल, बाह्रसिङ्गेका साथै स्याल, ब्वाँसा, हुँडारहरुलाई नियन्त्रणमा राखी परिस्थितिकीय प्रणालीमा सन्तुलन राख्न बाघको उपस्थिति महत्वपूर्ण हुने गर्दछ ।
ह्रास हुनुका कारण:
पछिल्लो सय बर्षमा बासस्थानको ९० प्रतिशत भन्दा बढि विनाश हुनु , बाघका आहारा प्रजातिहरुको अवैध चोरी शिकार हुनु , बाघको अंगहरुको परम्परागत औषधीमा अन्धविश्वासका कारणहरुले प्रयोग हुनु, शोखका कारणले बाघका अंगहरु सजावटमा प्रयोग हुनुले गर्दा नै बाघहरु दिन प्रतिदिन संकटमा छन् । जसले गर्दा बाघका ४ उपप्रजातीहरु; वाली बाघ (सन् १९४० को दशक), क्यास्प्ली बाघ (सन् १९७० को दशक), जाभाली बाघ (सन् १९८० को दशक) र दक्षिण चिनियॉं बाघ (सन् १९९०को दशक) संसारबाटै विलय भएका छन् भने बाँकी ५ उप प्रजातीहरु; साइबेरियाली बाघ, इन्डोचाइनिज बाघ, पाटेबाघ, सुमात्राली बाघ र मलाया बाघ आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका छन् ।

संरक्षणमा नेपाल:
नेपालको बाघ संरक्षण तथा अनुगमन क्षेत्रमा बनाईएको संरक्षण कार्यबिधिलाई निरन्तरता दिई अगाडि बढ्दा उल्लेख्य सुधार हुनुमा कुनै दुईमत छैन र पछिल्लो समयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्व, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग तथा डब्लुडब्लुएफ र जेडएसएलको आर्थिक र प्राविधिक सहयोग अग्रणी स्थानमा रहेका छन्।

नेपालमा बाघको संख्या:
सन् २००८ मा गरिएको बाघ गणना मा कुल १२१ बयस्क बाघ भेटिएकोमा सन् २०१३ मा १९८ बयस्क बाघ र सन् २०१८ (नेपालका ५ वटा राष्ट्रिय निकुञ्ज तथा त्यसका बफरजोनहरु) मा गरिएको बाघ गणनामा २३५ बयस्क बाघ भेटिएका थिए (स्रोत: DNPWC)। पछिल्लो गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी ९३ वटा, त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा ८६ वटा र सबैभन्दा कम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा थिए जसले गर्दा संरक्षणकर्मी निक्कै खुशी र आशाबादी देखिएका छन् ।

अन्त्यमा: यहि रितले बाघको संख्या घट्दै गएमा अब अर्को दशक सम्ममा बाघ विश्व बाटै लोप हुने बिज्ञहरुले चेताबनी दिइएको सन्दर्भमा आजको दिनको मुख्य उद्देश्य संकटापन्न अवस्थामा रहेको यस प्रजातिको संरक्षणमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउनु, जनचेतना अभिबृद्धि गराउनु, बासस्थानको विस्तार र संरक्षणमा स्थानीय समुदायको अपरिहार्यता छ भनेर सन्देश दिनु हो । बिश्व बाघ दिबसको शुभकामना !!
लेखक संरक्षणकर्मी, पोखरा पंछी समाजका अध्यक्ष तथा वन्यजन्तु-फोटोग्राफर पनि हुनुहुन्छ ।