नेपालमा २२ सङ्क्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०७७ मा प्रकाशित


इश्वरचन्द् झा 
काठमाडौं, साउन १४ गते । नेपालमा कोरोनाभाइरसका २२ जना बिरामी सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा छन् । कोरोनाभाइरसका सङ्क्रमितमा श्वास लिन कठीनाई भएपछि कृत्रिम रुपमा शरीरमा वायु सञ्चारको लागि भेन्टिलेटरमा राखिन्छ ।


स्वास्थ्य तथा जनसंख्याका अनुसार बुधबार मात्रै कोभिड–१९ का २२ जना सङ्क्रमितलाई भेन्टिलेटर र आईसीयूमा राखेर उपचार गरिदैछ । नेपालमा हाल पाँच हजार ३६० जना बिरामीमा भाइरसको सङ्क्रमण सक्रिय छ । सक्रियमध्ये २२ जनालाई सघन उपचारको आवश्यकता परेको हो । अर्थात नेपालमा अहिलेको सक्रिय सङ्क्रमितको ०.४१ प्रतिशत बिरामीलाई सघन उपचार गरिदैछ ।
छिमेकी राष्ट्र भारतमा भने कोभिड–१९ को सङ्क्रमितको करिब चार प्रतिशत बिरामीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता महसुस गरिएको छ ।


मन्त्रालयका अनुसार सबैभन्दा बढी वाग्मती प्रदेशमा १४ जना सङ्क्रमितलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको छ । प्रदेश २ मा पाँच, प्रदेश ५ मा दुई तथा कर्णाली प्रदेशमा एकजनालाई आईसीयू र भेन्टिलेटरमा राखिएको हो ।


शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । शरीरमा कृत्रिम रुपले वायु सञ्चारको लागि भेन्टिलेटरको प्रयोग गरिन्छ ।

– गोरखापत्र अनलाइन