
सांकेतिक तस्विर
चितवन, १५ साउन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको मालबाहक ट्रक इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ३ ख ८९८७ नम्बरको कन्टेनर र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५६८७ नम्बरको ट्रक एकापसमा सो स्थानमा ठक्कर खाँदा ट्रक त्रिशूलीमा खसेको हो ।
ट्रक नदीमा खसे पनि सिन्धुपाल्चोक बाह्रबिसे–३ घर भएका ट्रकका चालक ३५ वर्षीय राजेन्द्र बस्नेत हाम फालेर जोगिएका छन् । हामफाल्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उनको मुग्लिनमा रहेको मेडिकलमा उपचार भएको प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले बताए ।
ठक्कर खाएपछि भाटभटेनीको ट्रक नदीमा खसेको हो । बेपत्ता ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता थापाले जानकारी दिए ।