
पोखरा, १६ साउन । कोरोना भाइरसबाट संक्रमित भई विश्वभर निको हुनेको संख्या एक करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका तथ्याङ्क अनुसार आज शुक्रवार बिहानसम्म विश्वमा कोरोना संक्रमण भई निको हुनेको संख्या एक करोड ७८ हजार ८ सय ५३ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित निको हुने देशको सूचिमा पहिलो स्थानमा ब्राजिल छ । ब्राजिलमा कोरोना संक्रमित भई निको हुनेको संख्या १९ लाख ५६ हजार ८ सय ७ पुगेको छ । त्यस्तै ब्राजिल पछि धेरै निको हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको अमेरिकामा निको हुनेको संख्या १४ लाख १४ हजार एक सय ५५ पुगेको छ । तेस्रो स्थानमा रहेको भारतमा १० लाख १९ हजार ७४० जना संक्रमित निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वभर हालसम्म एक करोड ७२ लाख २२ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ७१ हजार ४२ पुगेको छ ।