तमु प्ये ल्हु संघद्वारा स्याङ्जाका २ वडालाई आर्सेनिक एल्बम ३० वितरण

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७७ मा प्रकाशित


पोखरा । आम नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन तमु प्ये ल्हु संघको समन्वयमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १२ र वालिङ नगरपालिका वडा नं. ३ लाई होमियोप्याथिक औषधि आर्सेनिक एल्बम ३० वितरण गरेको छ ।

तमु प्ये ल्हु संघको समन्वय तथा अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशको तत्वाधानमा किरण होमियोप्याथिकले आज शुक्रवार प्ये ल्हु संघको केन्द्रीय कार्यालय परिसरमा होमियोप्याथिक औषधि आर्सेनिक एल्बम ३० वितरण गरेको हो ।

होमियोप्याथिक औषधी वितरण कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. १२ का अध्यक्ष दूतप्रसाद गुरुङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथापमको लागि परम्परादेखि पुर्खाले प्रयोग गर्दै आइरहेको जुडिबुटीको माध्यमबाट रोग लाग्नुभन्दा रोग लाग्न नदिनको लागि पूर्वतयारी स्वरुप प्राप्त औषधी वडाबासीलाई वितरण गरिने बताए ।

अल नेपाल होमियोप्याथिक एशोसियसन गण्डकी प्रदेशका अध्यक्ष डा. विष्णुप्रसाद चापागाईले होमियोप्याथिक औषधी अहिलेको भाईरस विरुद्ध बढि प्रभावकारी भएको र यसको कुनै पनि असरहरु नहुने बताउँदै मेडिकल साईन्सबाट समेत पुष्टि भएको बताए । उनले होमियोप्याथिक औषधी तथा उपचार पद्धति धेरै पुरानो पद्धति भएको र यसले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने बताए ।

तमु प्ये ल्हु संघका महासचिव हर्क गुरुङले संघले आर्सेनिक एल्बम ३० हालसम्म एक लाखभन्दा बढी परिवारलाई वितरण गरिसकेको बताए । उनले तमु प्ये ल्हु संघ गुरुङ जातिको मौलिक भाषा, संस्कार संस्कृतिको जगेर्ना गर्न लागि परेको बताउँदै संघले समग्र तमुलगायत नेपालीको रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि लागिपरेको बताए ।

उनले गुरुङ जातिको भाषा, धर्म प्ये ताँ ल्हु ताँको संरक्षणको लागि तमु प्ये ल्हु संघ लागि परेको बताउँदै यसको लागि महत्वपूर्ण योगदान दिने कर्णेल लक्ष्मण गुरुङ जन्मेको ठाउँ पुतलीबजार नगरपालिकाका वडा नं. १२ पेल्काचौर भएकाले तमु जातिको बाहुल्य भएको उक्त ठाउँमा कर्णेल लक्ष्मण गुरुङको स्मृति पार्क बनाउन वडाबासीलाई जोड दिए । स्मृतिपार्कबाट पेल्काचौरबासीले ठूलो फाइदा लिन सकिने विवरण पनि उनले प्रस्तुत गरे ।

त्यस्तै पेल्काचौरकै चन्द्रकोटमा जन्मी भारतीय सैनिकमा भर्ती भई सन् १९८० मा सगरमाथाको सफल आरोहण गर्ने पहिलो गुरुङ आरोही इन्द्रबहादुर गुरुङ जन्मेको ठाउँ भएकोले प्रचुर मात्रमा पर्यटकीय सम्भावना भएको बताए । त्यस्तै पेल्काचौर राजनीतिक हिसाबले पनि महत्वपूर्ण ठाउँ भएको विवरण प्रस्तुत गर्दै उनले वि.सं. २०१५ सालमा पश्चिम क्षेत्रबाट सर्वाधिक मत ल्याई मन्त्री बन्न सफल जमानसिंह गुरुङको गाउँ भएको बताउँदै महासचिव गुरुङले पेल्काचौरको छुट्टै महत्व रहेको बताए ।

तमु प्ये ल्हु संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा भएको थियो । उक्त होमियोप्याथिक आर्सेनिक एल्बम ३० संघले गण्डकी प्रदेशबाहेक सुदूरपश्चिम प्रदेशमा पनि वितरण गरिसकेको छ भने छिट्टै प्रदेश नं. १, प्रदेश ५ लगायतका तमु प्ये ल्हु संघ जिल्ला शाखामार्फत वितरण गरिन लागेको जानकारी दिए ।