गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९४ पुग्यो

-


     मर्दी न्युज    
     १७ असार २०७७ मा प्रकाशित


पोखरा, १७ असार । गण्डकी प्रदेशमा २८ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार बिहान जारी गरेको अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप भएका नयाँ २८ जना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

संक्रमितहरुमा नवलपुरका १२ जना, गोरखाका ३ जना, कास्कीका १, स्याङ्जा ८, बागलुङ ३ र तनहुँका १ जना गरी ६ जिल्लाको २८ जनामा संक्रमण पुष्टि भएको हो ।

नवलपरासी (बर्दघाट सुस्त पूर्व) र कास्कीका सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको छ भने गोरखा शहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ । अन्य जिल्लाका सबै संक्रमितहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशक डा. शर्माले जानकारी दिए ।



Tags: